काठमाडौं । सरकारले अब विद्यालयसहितका शैक्षिक संस्थालाई क्वारेन्टिन वा आइसोलेसन भवन नबनाउने निर्णय गरेको छ । पठनपाठन शुरु गर्ने योजना अनुसार अब सरकारले विद्यालयलाई क्रमशः खाली गरेर त्यसलाई पूर्ण किटाणुरहित बनाउने योजना बनाएको हो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले गरेको निर्णय अनुसार शिक्षा मन्त्रालय यसको कार्यान्वयनमा जुटेको छ ।
क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई अब तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने भएका छन् । सोही अनुसार स्थानीय तहमा सर्कुलर जारी गरिएको छ । अहिले पनि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन भइरहेको भए त्यसलाई खाली गराएर सुरक्षित बनाइने छ ।
सरकारले १ भदौबाट भर्ना खोल्ने निर्णय गरिसकेको छ । अब सुरक्षा प्रवन्ध अपनाएर शैक्षिक गतिविधि नियमित गर्ने तयारी सरकारको छ । नेपालमा ५ महिनायता विद्यालय बन्द छन् । शैक्षिक गतिविधि समेत ठप्प छन् । अब मन्त्रालयले विद्यालय संचालन गर्न आवश्यक मापदण्ड बनाएर जारी गर्ने भएको छ ।