अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने

file

काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने उनले बताए ।
मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको बताएको छ ।

तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी छ ।


द्रुत बस सेवा सञ्चालनका लागि सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।


अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । अहिलेका लागि अरु गाडीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।