अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रामा अनिवार्य लगाउनु पर्ने फेसशिल्ड अब भने लगाउनु नपर्ने भएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्ड लगाउनु नपर्ने नियम कार्यान्वयनमा ल्याउन लागिएको वायुसेवा संचालक संघले जानकारी गराएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको निष्कर्ष निकालेको वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गर्ने निर्णय लिएका हुन् । अब मास्क मात्र लगाए पुग्ने भएको हो । अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो । कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको हो ।