ओरेगन । अमेरिकी राज्य ओरेगनको जंगलमा लागेको आगोको फैलावटसँगै यहाँ स्थिति भयावह हुने चेतावनी जारी भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अहिलेसम्म आगोको चपेटामा तीन लाख एकड जमीन आइसकेको छ । भयानक आगोलागीसँगै आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । करीव दुई हजार भन्दा बढी फायरफाइटर्स आगो नियन्त्रणमा खटिएका छन् । सो राज्यमा इतिहासकै सबैभन्दा भयानक आगोलागी भएको संचारमाध्यमको भनाई छ । आगो ६ जुलाईबाट फैलन थालेको हो ।
अहिले अमेरिकाका १३ अलग अलग क्षेत्रको ८० भन्दा बढी स्थानमा आगोलागी भएको छ । उच्च तापमानका कारण आगोको फैलावट तिब्र बनेको छ भने नियन्त्रणमा कठिनाई उत्पन्न भएको छ । आगोलागीका कारण ग्रामिण भेग नराम्रोसँग प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १६० वटा घर आगोमा जलेका छन् । २ हजार मानिसको उद्धार भएको छ । फायर एसिस्टेण्ड कमान्डर जो हेसेल ले सोमवार एक बयान जारी गरि आगो नियन्त्रणमा दिनरात टोली खटिएको जनाएका छन् । पोर्टल्याण्डको दक्षिण पूर्वमा समेत आगोलागी फैलिएको छ ।