टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।
रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ।
६६ वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ। उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन्।
मङ्गलवारको घटनामा दुई जना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन।