काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै फर्जी जनमत सङ्ग्रह गर्न सक्ने उनले बताए।
सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले युक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो। उक्त कार्यलाई व्यापक रूपमा अवैधानिक रूपमा हेरिएको थियो। ‘हामी यसबारे अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ,’ किर्बीले पत्रकारहरू समक्ष भने, ‘रुसको यस कार्यबारे कोही पनि जानकार नभएको होइन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१४ मा प्रयोग भएको रणनीतिक प्लेबुकको धूलो टकटकाउँदै छन्।’ उनले रुसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगाए।
रुसले युक्रेनको भूभागलाई आफ्नो बनाउन जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ त्यसो गरेको किर्बीको भनाई छ। मतदानको नतिजा रुसले सार्वभौम युक्रेनी भूभागलाई आफूमा गाभेको दाबी गर्नको लागि प्रयोग गर्ने उनले बताए। रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीहरूको कार्यालय स्थापना गरिसकेको छ। सन् २०१४ मा हतारमा आयोजना गरिएको सङ्गठित जनमत सङ्ग्रह पछि रुसले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेको थियो।
यद्यपि, मतदाताहरूले आफ्नो भूभाग रुसमा गाभिने पक्षमा मत खसालेका थिए। त्यतिबेला किएभ समर्थकहरूको ठूलो जमातले मतदान बहिष्कार गरेका थिए र उक्त अभियान न स्वतन्त्र थियो न त निष्पक्ष नै। किर्बीले आफूले रुसी योजनाहरू उजागरू गर्नुको उद्देश्य संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने थाहा दिनु भएको बताए।
उनले यसबारे अमेरिका र उसको सहयोगीहरू राष्ट्रहरूबाट द्रुत प्रतिक्रिया जनाउने वाचा गरे। रुसले आफूमा विलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको उनको भनाई छ।
बीबीसी