सुपेन्द्र बस्नेत, बोष्टन
हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली समुदायिक संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय,गैर आवासीय नेपाली संघ र हिमालय लायन्स क्लवको संयुक्त प्रयासमा सभ्य तीज हर्षोल्लासका साथ मनाउन भव्य तयारी थालिएको हो।’बोस्टन तीज महोत्सव-२०२१’ नाम दिइएको उक्त कार्यक्रम,वाटर टाउन सिटीको सेन्ट जेम्स अमेरिकन एपोष्टोलिक भवनमा यही आउदो सेप्टेम्बर ४ तारिख (शनिवार)का दिन संयुक्त रुपमा मनाउने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक,साँस्कृतिक,परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्नु र हर्षोल्लास मनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको छ।
महोत्सवमा नेपालीपन झल्किने तीज लक्षित सांगीतिक कार्यक्रमका साथै विभिन्न नेपाली मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गर्न लागिएको गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो।उहाँले भन्नु भयो ‘धार्मिक आस्था र विश्वासलाई जीवन्त राख्दै यस वर्षको तीजलाई सभ्य र मनोरञ्जनात्क रुपमा मनाउन हामी तिनै संस्था तयारीमा जुटेका छौं’।यस महोत्सवलाई पहलो पटक यसरी संयुक्त रुपमा मनाएर,परदेशमा रहेका नेपालीहरु बिचको आत्मीय एकताको सन्देश समेत दिन खोजिएको तामाङले बताउनु भयो।सहभागिताका लागि प्रति ब्यक्ति २५ डलर सहयोग शुल्क तोकिएको कार्यक्रममा,४ सय टिकट बिक्री गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संस्थागत नेतृत्व गर्दै आवश्यक तयारीमा जुट्नु भएका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार,महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गरेर नै मनाउने तयारी थालिएको छ।’ हिन्दुहरुको महान चाड हरितालिका तीजलाई धर्म,सँस्कृति, परम्परा,रितिरिवाजलाई सक्दो जिवन्त राख्ने प्रयास गर्ने छौं।’ उहाँले भन्नु भयो,’ देश,काल र परिस्थिति अनुसार उपलब्ध श्रोत साधनहरुको भरपुर उपयोग गरेर,महोत्सवलाई प्रभावकारी बनाउन सक्दो प्रयास गर्नेछौं।’ नेपालीहरु बिचको आत्मीय भातृत्वलाई एकताबद्ध र सुमधुर बनाउनमा कार्यक्रमले जोड दिने अध्यक्ष कार्कीको विश्वास छ।पहिलो पटक यसरी संयुक्त रुपमा मनाउन लागिएको तीज महोत्सवमा,अन्य संघ संस्थाहरुलाई पनि समेट्न कोसिस गरिएको भएतापनि, विविधकारणले सम्भव नभएकोमा भने अध्यक्ष कार्कीले दुःखेसो पोख्नु भयो ।
सामाजिक,धार्मिक,साँस्कृतिक लगायत कार्यहरुमा सामूदायिक एकिकृत भूमिका निकै महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ।यसै तथ्यलाई आत्मसात् गर्दै बेला बेलामा नेपालीहरु समेटिएका बोस्टन स्थित संघ संस्थाहरुले, आफ्नो एकता र सक्रियता प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा पहिलो पटक बोस्टन स्थित यि तीन संस्थाहरु ‘तीज पर्व’ सामूहिक रुपमा मनाउन एकजुट भएका हुन् ।
महोत्सवलाई हर्षोल्लासमय बनाउन साँगितिक कार्यक्रमको पनि आयोजना गरिने महोत्सव संयुक्त आयोजक संस्था हिमालयन लायन्स क्लवकी कोषाध्यक्ष शान्ति जोशीले जानकारी दिनु भयो।’महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने गरी तीज केन्द्रित गीतहरु र नृत्यहरु समेटेर साँगितिक कार्यक्रम पस्किने गरी तयारीमा जुटेका छौं ‘ जोशीले भन्नु भयो।नेपालीहरुको धार्मिक चाड ‘तीज’ महिला सशक्तिकरणको सुवर्ण अवसर हो भन्दै उहाँले त्यसका लागि एकता अपरिहार्य रहेको जिकिर गर्नु भयो।संयुक्त रुपमा तीज मनाउन लागिएको प्रति निकै खुशी व्यक्त गर्दै जोशीले एकता नै शक्ति भएकाले महोत्सवमा एकबद्ध भएर सक्रिय सहभागिता जनाउन, सबैलाई अनुरोध समेत गर्नु भएको छ।
हिन्दुहरुको आराध्य देव मानिने शिव र पार्वतीको पूजा, प्रार्थना र आराधन गर्ने सर्वोत्तम महिनाका रुपमा मानिने श्रावण महिना प्रारम्भ भएसंगै,बोस्टन स्थित शिवालय र पशुपतिनाथ बुद्ध फाउण्डेशन शक्तिपीठहरुमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ।हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव जस्तो होनहार वर पाएको धार्मिक मान्यता,आस्था र बिश्वासका आधारमा यो चाड मनाइदै आइएको छ।जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अलावा यस चाडलाई पूर्वीय दर्शन अनुसार माइती र चेली बिचको सम्बन्धलाई कसी लगाउदै सुमधुर बनाउने,ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने,गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ।तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा,भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेको प्रति सर्वत्र चिन्ता बढेको छ । सामाजिक परिवर्तनका नाममा जानी नजानी भित्रिएका मनोरञ्जनमा मात्र केन्द्रिकृत क्रियाकलापहरुले,विभिन्न खाले विकृति र विसंगतिहरु भित्रिदा चाडको मुल मर्म मर्दै गएको कुरा जग जाहेर नै छ।तसर्थ, तीज मनाउदा त्यसप्रति सचेत र गम्भीर हुन जरुरी छ।