सुपेन्द्र बस्नेत, बोष्टन
अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा शान्तिका अग्रदूत मानिने शिद्धार्थ गौतम बुद्धको २५६७ औं जन्म जयन्ति मनाइएको छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यसै अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण गर्दै ग्रेटर बोस्टन न्यू इंग्लैण्डबासी नेपाली समुदायले बुद्ध जयन्ति मनाएका हुन्। यस अवसरमा गत मे १३ तारिख शनिवारका दिन पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड (प्याब्फोन-PABFONE) र ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले, ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा संयुक्त रुपमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रम तालिका अनुसार गुरु समन्त श्रीरत्न बज्राचार्यले बुद्धधर्मको विधि अनुसार बुद्ध पूजा गर्नुका साथै मन्त्र ध्यान गरेका थिए। धार्मिक विधि र प्रक्रिया अनुसार पूजा,ध्यान, पाठ, जप आदि गरिसकेपछि लामा धिर गुरुङले बुद्धका दिव्य ज्ञान तथा वचनहरु, उपदेशहरु र बुद्धका योगदानहरुमा केन्द्रित रहेर बुद्धधर्मका बारेमा प्रवचन दिएका थिए। यसैगरी, बुद्ध धर्मका जानकार तथा भिक्षु कोन्चोक लामा शोनामले पनि शाक्य मुनी गौतम बुद्ध तथा बौध्दधर्मका बारेमा चर्चा परिचर्चा गरेका थिए। यसै अवसरमा, प्याब्फोन(PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम मूल आयोजक समिति’का संयोजक प्रल्हाद केसीले यही आउदो मे २७ देखि ३० तारिखसम्म हुने ४ दिने बृहत धार्मिक तथा सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाली समुदायलाई चुले निम्तो दिदै कार्यक्रम उत्सवका रुपमा मनाउन अनुरोध गरेका थिए। कार्यक्रममा प्याब्फोन(PABFONE)का बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेल, जिबिएनसि(GBNC)की अध्यक्ष अञ्जु थापालगायतले कार्यक्रमको औचित्य, महत्व, सान्दर्भिकता र सामुदायिक सहभागिताका बारेमा प्रष्टिकरण दिदै आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरुले भगवान बुद्धको ध्यान, जप, पूजा, पाठ तथा आराधना गरेका थिए। उनीहरुले गुरु तथा वक्ताहरुले बुद्ध र बौध्दधर्मका बारेमा व्यक्त गरेका अमूल्य वचनहरु श्रवण गर्नुका साथै विश्व शान्तिको कामना गर्दै एक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए। प्याब्फोन(PABFONE)को कार्यसमितिकी उपाध्यक्ष एलिना श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेको कार्यक्रममा जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाको नेतृत्वको टोलीले, प्याब्फोन(PABFONE) भवन परिसरभित्रै प्रसाद(खिर,सेलरोटी,पुरी,चिया आदि) पकाएर भक्तजनहरुलाई खुवाएको थियो।
कार्यक्रमका बारेमा जानकारी दिदै संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मिलन गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। संस्थाको आफ्नै भवनमा पहिलो पटक मनाइएको बुद्ध जयन्ती अन्तर्गत गरिएका धार्मिक तथा प्रवचन कार्यक्रमले सहभागीहरुलाई जीवन उपयोगी अमूल्य सकारात्मक सन्देश दिन सफल भएको उनले जिकीर गरे।
नेपाली पहिचान र नेपालीत्वका लागि विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको प्याब्फोन(PABFONE)ले, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जस अनुसार उक्त समुदायिक भवनमा अहिले भगवान शिवको मूर्तिसहित पशुपतिनाथ मन्दिर र भगवान बुद्धको मूर्तिसहित स्तूपा निर्माण गरिएको छ। संस्थाले भवनमा स्थापित भगवान शिव तथा बुद्धलगायत अन्य देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने तथा सामुदायिक भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। यही मे २७ देखि ३० तारिखसम्म विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु हुने यस कार्यक्रमलाई उत्सवका रुपमा मनाउदै सफलतापूर्वक सम्पन्न गर्न यतिबेला आयोजक अहोरात्र खटिरहेको छ। र, तयारीलाई प्राथमिकताका साथ तिब्रता दिइरहेको छ।आयोजकले यस अवसरलाई उत्सवका रुपमा मनाउने उद्देश्यले सक्रिय सहभागिताका लागि सम्पूर्ण नेपाली समुदायलाई चुले निम्तो समेत दिएको छ।