न्युयोर्क
नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना), बाग्लुङ सेवा समाज अमेरिका, नारी एकता, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, पर्वत सेवा समाज न्युयोर्क र बलेवा सेवा समाजसँगको सहकार्यमा संयुक्त तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

गत शनिवार सेप्टेम्बर १६ तारिखको साँझ ६ बजेदेखि १२ बजेसम्म सत्यनारायण मन्दिर न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न गरिएको हो ।

तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षतामा एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष हेमन्तबहादुर मल्ल, प्रमुख अतिथिमा महावाणिज्यदूत बिष्णु गौतम, Honorable Guest New York State Assembly woman Jenifer Rajkumar लगायतले कार्यक्रमा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको बारेमा सहआयोजक फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना) का अध्यक्ष विष्णु राना मगरले यो बर्ष करिव १५ सयको हाराहारीमा महिला दिदीबहिनीहरुको उपस्थिति भएको र सबैलाई दर खुवाएर सौहार्द र रमाइलो वातवरणमा खुसी साटासाट गर्दै समापन भएको समेत बताएका छन्। यो बर्षको तीजमा बहिर सडक पेटीमा समेत महिला दिदीबहिनीहरु नाचगान गरिरहेको दृष्य प्रवासमा गर्विलो देखिन्थ्यो ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँने गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले तीजमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।