काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।
घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।