अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने समेत चेतावनी दिए ।

अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । बाइडनले एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा त्यसो भनेका हुन् । अन्तरवार्तामा त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउन सकिने सम्भावनाबारे गरिएको प्रश्नमा बाइडेनले जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुने उल्लेख गरेका छन् ।