न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको छ । कोभिड १९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा पुष्टी भएको हो । त्यसयता भाइरसबाट विश्वभर १६ करोड ७० लाख मानिस प्रभावित एका छन् ।
३४ लाख मानिसको ज्यान गइसकेको छ। यस वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै कम भएको उल्लेख थियो ।
अमेरिकी जासुसी सूत्रलाई उदृत गर्दै लेखिएका समाचारहरुका अनुसार सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य बिरामी भएर अस्पताल भर्ना भएका थिए ।
यस सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई समेत अनुमति दिइनुपर्ने बताएका छन्। बेइजिङ भने यसमा सहमत छैन । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।