अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

काठमाडौं । रुसको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी कंग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले युक्रेनी सेनाले ठूलो व्याकअप प्राप्त गर्नेछ । रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले त्यसको डटेर प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ। अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ। युक्रेनले भने पश्चिमा मुलुकसँग निरन्तर सहायता मागिरहेको छ । राजधानी कब्जा गर्ने अभियानमा रुस अगाडी बढिरहँदा तेस्रो मुलुकबाट प्रतिकार हुन सक्ने र यस अवस्थामा विश्वयुद्धको समेत खतरा उत्पन्न हुने छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कदम नचाल्न चेतावनी दिइरहेका छन् ।