अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

file Photo: AFP

लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

दुई हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । यसै सन्दर्भमा इयुले म्यानमारमाथि विभिन्न प्रतिबन्ध लगाएको हो । इयुका विदेशमन्त्रीहरुको बेठकले म्यानमारका ११ अधिकारीमाथि युरोप भ्रमणमा प्रतिबन्ध लगाएको छ । म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने निर्णय समेत इयूले गरेको हो ।

इयुअन्तर्गत २७ देशका विदेशमन्त्रीको बैठकले म्यानमारको जननिर्वाचित सरकारलाई अपदस्थ गरेको सैनिक शासकले सत्ता हस्तान्तरण नगरेसम्म विभिन्न क्षेत्रमा प्रतिबन्ध थप्दै जाने निर्णयसमेत गरेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारमाथि यसअघि अमेरिकाले प्रतिवन्ध लगाएको छ ।