२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर ३७ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन् । त्यसमध्ये एक जना विद्यार्थी भिसामा गएको र एक जना डिभि परेर गएको पाइएको छ । अमेरिकी कानून उल्लंघन गरेकाहरु अहिले डिपोट भएका हुन् । यसमध्ये धेरैजसो गैरकानूनी रुपमा अमेरिका छिरेका नागरिक छन् । उनीहरु गैरकानूनी बाटोबाटै अमेरिका छिरेका थिए । चार्टर्ड विमानमा फर्किएर आएपछि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरुले नेपाली नागरिकसँग समेत सोधपुछ गरेका थिए । त्यसक्रममा उनलाई राज्यसँग कुनै गुनासो भए नभएको समेत सोधिएको थियो । त्यसक्रममा उनले आफ्नो केही गुनासो नभएको बताएका थिए ।
‘यसरी फर्किएकामध्ये ५ जना महिला छन् । उनीहरु पनि अवैध बाटोबाट अमेरिका पुगेका थिए । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट आएका ३७ जनालाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो । राति प्रहरीले सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् ।
उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।