अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

File : Yana Paskova / Getty Images

ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि अधिकारीहरूले जनाएका छन्।


बुधवार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले भनेः ‘अहिले भन्नुपर्दा चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएका छन’ आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ। प्रहरी उपप्रमुखका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो। आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको छ। प्रहरी उपप्रमुख डालग्लिशका अनुसार स्थानीय समयअनुसार ४ बजेर ५२ मिनेटमा बन्दुकधारीबारे प्रहरीलाई खबर आएको थियो र त्यसको तीन मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो।

त्यहाँ पुगेका प्रहरी अधिकारीहरूले गोली चलेको आवाज सुने र त्यही आवाज सुनेर उनीहरू दोस्रो तलातर्फ बढेको बताइएको छ । अधिकारीहरूले दोस्रो तलामा रहेका मानिस लगायतका प्रत्यक्षदर्शीहरूसँग अहिले सोधपुछ गरिरहेका छन्। एबीसी न्यूजसँग कुरा गर्दै कप्तान रिचर्ड म्यूलेनबर्गले बताएअनुसार प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो।