काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलाई पक्राउ गर्न थालेको छ । कतिपय मुलुकका नागरिकलाई जहाजमा राखेर फिर्ता समेत पठाउन थालिएको छ । एक अध्ययनका अनुसार अमेरिकामा १ करोड १० लाख हाराहारी अवैध आप्रवासी रहेको अनुमान गरिएको छ । यसमध्ये मेक्सिकन मात्र ४० लाख भन्दा धेरै छन् । प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा दोस्रो स्थानमा एल साल्भाडोर रहेको छ । सो मुलुकका ७ लाख भन्दा धेरै नागरिक अवैध रुपमा अमेरिकामा बसिरहेका छन् ।
भारतीय नागरिक समेत ७ लाख भन्दा बढी नै रहेको अनुमान छ । ग्वाटेमालाका साढे ६ लाख, होण्डुरसका साढे ५ लाख, चिनियाँ झण्डै ४ लाख, डोमिनिकन रिपब्लिक झण्डै ३ लाख, भेनेजुएलाका झण्डै ३ लाख र ब्राजिलका साढे २ लाख नागरिक अमेरिकामा अवैध रुपमा बसिरहेको पाइएको छ । कोलम्बियाका २ लाख मानिस अवैध बसोबासमा छन् । पहिलो १० सूचीमा नेपाल भने छैन ।