अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

File Photo

न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्।

आपत्‌कालीन अवस्थामा सहरमा विभिन्न भागमा लुटपाट भएका विवरण आएका छन्। हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन्। मङ्गलवार थोरै मात्रै हिमपात भएको र मौसम थोरै न्यानो भएका कारण अवस्थामा सुधार आउने ठानिएको छ।

मङ्गलवारको पत्रकार सम्मेलनमा बफेलो सहरसमेत पर्ने न्यूयोर्कको इरी काउन्टीका अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या बढ्ने ठानिएको बताएका थिए। बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको पुष्टि भएको हो। ूसबै सङ्ख्या समेटिएको छैन,ू बफेलो सहरका मेयर बाइरोन ब्राउनले भने। ‘हामीलाई थाहा छ इरी काउन्टीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ।’

आँधीपछि चार हजारभन्दा बढी मानिसहरू उक्त क्षेत्रमा बिजुली बिना नै बसेको ब्राउनले बताए। उनका अनुसार “सम्भवतस्” धेरैजसो बासिन्दाहरूले देखेको आफ्नो जीवनकालकै मौसमको यो सबभन्दा खराब अवस्था हो। आँधी उत्कर्षमा रहेका बेला करिब २० हजार मानिस बिजुली बिना बसेका थिए। हिमपात कम भएसँगै अधिकारीहरूले गाडीहरू हटाउन र बिजुली पुनः सञ्चालन गर्न सक्दा सहरको अवस्थामा सुधार भएको ब्राउनले बताए। तर उक्त क्षेत्रमा तापक्रम बढ्दा त्यसले हिउँ पग्लिएर बाढीजस्ता थप समस्याहरू आउनसक्ने भन्दै अधिकारीहरूले चेतावनी दिएका छन्।

बफेलो सहरका प्रहरी आयुक्त जोसेफ ग्राग्मलियाले लुटपाट “अझै जारी रहेको” बताए। अहिलेसम्म चार जना पक्राउ परिसकेका छन्। ‘यिनीहरू खाना, औषधि र डाइपर चोर्नेहरू होइनन्, उनले भने। उनीहरूले पसलहरूमा क्षति पुर्‍याएका छन्। टिभी, सोफा र जे हातमा पर्छ त्यही चोरिरहेका छन्। तिनीहरू अवसरवादी हुन्।’

सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनले न्यूयोर्क राज्यमा सङ्घीय सहयोग दिने एउटा आपत्‌कालीन घोषणा अनुमोदन गरेका छन्। यो बिदा मनाउने सप्ताहान्तमा आफ्ना प्रियजन गुमाउनेप्रति मेरो सहानुभूति छ, उनले ट्विट गरे। छिमेकी न्यूजर्सी राज्यले पनि न्यूयोर्क राज्यमा आपत्‌कालीन सेवा पठाएर थप सहायता प्रदान गरेको छ। न्यूयोर्कका अधिकारीहरूले आपत्कालीन सेवामा खटिनेहरू जीवित कोही भेटिन्छ कि भनेर कारहरूमा खोज्दै हिँडेको र बेलाबेला कारभित्रै शवहरू भेटिएको बताएका छन्।

अधिकारीहरूले हिउँ हटाउँदा केही मानिसको हृदयाघात भएर ज्यान गएको बताएका छन्। सावेलले हिउँ हटाउँदा अत्यधिक खटाइ हुने हुँदा ढाड दुख्ने र हृदयाघात हुनसक्ने भन्दै बफेलो सहरमा मानिसहरूलाई सूचित समेत गरिएको छ। क्रिसमसको समयमा हिउँका कारण अलपत्र परेका आफ्ना भोगाइहरू मानिसहरूले सुनाएका छन्। आफूहरूले निरीह महसुस गरेको र हिउँमा फसेको अहिलेको घटना जीवनमा कहिल्यै बिर्सन नसक्ने उनीहरूले बताएका छन्।

न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै हुँदा आँधीसँगै सम्बन्धित घटनाका कारण अमेरिकाका अन्य राज्यहरू ओहायो, मिजोरी, विस्कन्सिन, क्यान्सस र कोलोराडोमा पनि मानिसहरूको ज्यान गएको छ। सप्ताहान्तमा करिब २ लाख ५० हजार घर र व्यवसायमा बिजुली आपूर्ति नभएको र बिस्तारै आउने क्रम रहेको छ। अझै पनि दशौँ हजार मानिसहरू बिजुली बिना नै बस्न बाध्य छन्। छिमेकी देश क्यानडामा पनि ओन्टारियो, कुबेक र ब्रिटिश कोलम्बिया राज्यमा आँधीको असर परेको छ। बीबीसी