अमेरिकामा बडा दशैं हर्षोल्लासका साथ मनाइयो

सुपेन्द्र बस्नेत, बोष्टन

यस वर्षको नेपालीहरुको महान चाड बडा दशैं सम्पन्न भएको छ। नेपालमा रहने नेपालीहरुले मात्र हैन, विश्वभर छरिएर रहेका प्रवासी/आप्रवासी नेपालीहरुले पनि बडा दशैं सक्दो हर्षोल्लासका साथ मनाए। यसबाट अछुतो रहन नसकेका अमेरिकामा पनि अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ बडा दशैं मनाए। धार्मिक मुल्य, मान्यता र सामाजिक तथा पारिवारिक परम्परा, रितिरिवाज, चालचलनका दृष्टिकोणले निकै महत्वपूर्ण मानिने चाड बडा दशैं नेपालीहरुका लागि नेपाल र नेपालीको पहिचानका दृष्टिकोणले अझ महत्वपूर्ण र अर्थपूर्ण रहने गर्दछ।त्यसैले, प्रवासी नेपालीहरुले जागीर, काम, व्यवसाय, अध्ययन, घरयासी व्यवहार, सामाजिक अभियान लगायत व्यस्त जीवनमा भरसक चाँजो पाँजो मिलाएर महत्वका साथ दशैं हर्षोल्लासका साथ मनाउने प्रयास गरेका थिए। १५ वर्ष अघि सपरिवार अमेरिका भित्रिनु भएकी उषा सुबेदीका अनुसार सुबेदी परिवारको ‘बडा दशैं’ हर्षोल्लासमय नै भयो।श्रीमान, छोरी र छोराका साथ हाल अमेरिकाको न्यु हेम्पसारमा बस्दै आउनु भएकी सुबेदी भन्नु हुन्छ,’नेपालको जस्तो त कहाँ हुन्छ र। तर, अवस्था अनुसार चल्नै पर्यो।रमाउनै पर्यो। चाडबाड मनाउनै पर्यो।’ अमेरिकाको बसाई लामै भैसकेकाले परिस्थितिलाई स्विकार गरेर रमाउने बानी परिसकेको उहाँको जिकिर छ।’सुरुका वर्षहरुमा नेपाल संझेर निकै बिरक्ता लाग्थ्यो।धेरै वर्ष भयो, यतै दशैं मनाउन थालेको। पारिवारिक जिम्मेवारीका कारण अब त बानी पनि परिसकेकाले रमाइलै लाग्छ।’

सुवेदी परिवार


यसै सन्दर्भमा आफ्नो प्रतिक्रिया दिदै हिमाल अधिकारी भन्नु हुन्छ,’ यस पटकको दशैं नेपालमै गएर मनाउने योजना थियो।तर, सम्भव नहुँदा मन खिन्न त भयो नै। तरपनि, यतै बडा दशैं सक्दो हर्षोल्लासका साथ नै मनाइयो।’ नेपालको दशैं संझदै उहाँ थप्नु हुन्छ,’ नेपालमा पाउने नेपालीपनको उत्साह, उमङ्ग, स्वाद, रौनक, सुख र आनन्दको भने अभाव त खड्कियो नै।’ नेपालको प्यूठान जिल्ला प्यूठान नगरपालिका जन्मभूमि भइ, ६ वर्षदेखि अमेरिकाको न्यु योर्क हुदै बोस्टनलाई कर्मभूमि बनाउदै आउनु भएका अधिकारी भन्नु हुन्छ ,’ सक्दो धार्मिक विधि र मर्म अनुसार घटस्थापना तथा जमरा राखी नव दुर्गाको पूजा, अर्चना तथा आराधन गरियो। दशमीका दिन परिवारका बिच टिका तथा जमरा लगाइयो।’


बडा दशैंका अवसरमा अमेरिकास्थित विभिन्न हिन्दु धार्मिक शक्तिपीठहरुमा घटस्थापना गरी जमरा राख्नुका साथै देवी देवताहरुको पूजा, अर्चना र आराधन गरिएको थियो। यस धार्मिक कार्यमा अमेरिकाको विभिन्न राज्य स्थित पशुपति तथा बुद्ध मन्दिरहरुको बढि सक्रियता रहेको थियो। कोरोना कहर अझै साम्य नभइसकेकाले सुरक्षाका उपायहरु अपनाउदै मन्दिरमा धार्मिक क्रियाकलापहरु गरिनुको साथै भक्तजनहरुले मन्दिरको दर्शन तथा देवी देवताहरुको पूजापाठ गरेका थिए।

दशैंको अवसर पारेर साथीभाइसंग युटाहतिर घुम्दै रमाउदै बिशाल पौडेल


नेपालको मकवानपुर जिल्ला हेटौंडा जन्मथलो भइ ५ वर्ष अघि उज्वल भविश्यको खोजीमा अमेरिका छिर्नु भएका, हाल न्युयोर्कबासी विशाल पौडेलले पनि यस वर्षको दशैं गत वर्षको तुलनामा रमाइलोसंग नै मनाएको प्रतिक्रिया दिनु भयो । तुलनात्मक रुपमा गत वर्ष कोरोना कहरका कारण निरास र उदासका साथ दशैंलाई विदा गर्नु परेको भएतापनि, यस वर्ष भने साथी भाइहरुसंग भेटघाट र घुमघाम गरेर मनाउन पाएकोमा बडा दशैं उल्लासमय र उपलब्धिमूलक नै भएको पौडेलले जिकिर गर्नु भयो।’ यो वर्ष कोरोना भ्याक्सिन उपलब्ध भएसंगै कोरोना संक्रमण समस्यामा कमी आएकाले दशैंमा साथीभाइलाई भेट्ने, घुमघाम गर्ने र दशैं मनाउने योजना अनुसार अमेरिकाको युटाह राज्यतिर गइयो। र, साथीभाइसंगै घुमघाम गर्दै दशैं मनाइयो।’ लामो समय परिवारबाट टाढा रहन बाध्य हुनु भएका पौडेल भन्नुहुन्छ,’ तर, जम्मभूमितिरको घरपरिवार, साथीभाइ, इष्टमित्र, मठमन्दिर, नेपाली मिष्ठान्न परिकार, उमङ्गको माहोल आदिइत्यादि गुमाउनु पर्दा भने मन निकै दुःखी भयो।’
पौडेलले जस्तै आफ्नो घर परिवारबाट निकै टाढा रहनु परेको परिस्थितिलाई आत्मसात् गरेर दुःखी मन बुझाउदै थुमथुमाउदै अनि रमाउदै वर्ष दिनको महान चाड ‘बडा दशैं’ मनाउनेहरुको संख्या अमेरिकामा निकै नै छ। तरपनि, अमेरिकामा नेपालीहरुको बढ्दो जनसंख्या, संगठित सक्रियता, समिप्यता, नेपाली भाषा, धर्म, संस्कृति, भेषभुषा, परम्परा, रितिरिवाज, चालचलन आदिको संरक्षण, संवर्धन तथा व्यवहारिक प्रयोगमा आएको चासो, चिन्ता र सक्रियतासहितका गतिविधिहरुले गर्दा भने विगतको तुलनामा चाडबाडको महत्व र रौनक बढ्दै गएकाले नेपाली चाडबाडहरु मनाउने र रमाउनेहरुको संख्या बढ्दै गएको छ। जो भावी सन्ततिको खुशीका लागि शुभ संकेत हो।
विविध कारणले चाहना हुदा हुदै पनि नेपाल जान नपाउदा परिवारका मुली, इष्टमित्र वा आफन्तजनलाई अमेरिकामा नै बोलाएर चाडबाड मनाउने र उनीहरुलाई अमेरिका घुमाउनेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै छ। सोही अनुसार, यस वर्षको बडा दशैंमा पनि नेपालबाट अमेरिका भित्रने क्रमले निरन्तरता पायो। यसको एक प्रतिनिधि पात्र हो, नेपालको मकवानपुर जिल्ला हेटौंडा निवासी ढकाल दम्पती। ४ वर्ष अघि सपरिवार अमेरिका छिरेर टेक्सासमा बसोवास गर्दै आएका कान्छो छोरा दिपक ढकाल, बुहारी सुस्मा गौतम ढकाल, नातिनी एकता ढकाल र नाति दिवस ढकालको अनुरोधमा ढकाल दम्पती दशैंको मुखैमा अमेरिका आइपुग्नु भएको हो। पारिवारिक भेटघाट गर्न र घुमघाम गर्न अमेरिका भित्रिएको भएतापनि, बडा दशैं परिवारका बिचमा नै मनाउने ढकाल दम्पतिको मुख्य उद्देश्यले रहेको थियो। कृष्ण प्रणामी धर्मावलम्वी ढकाल परिवारका मुली पिताम्बर ढकालले दिनु भएको प्रतिक्रिया अनुसार झण्डै ४ वर्ष पछि छोरा बुहारी, नाति नातिनीहरुसंग महान चाड ‘बडा दशैं’ मनाउन पाउदा ढकाल दम्पतिको खुशीको सिमा रहेन।’ यस बर्षको बडा दशैंको खुशीको सिमा नै छैन। लामो समय पछि छोरा, बुहारी, नाति, नातिनीहरुसंगको भेटघाट र कान्छो छोराको परिवारकाबीच मनाइएको दशैंले साच्चै हृदय सारै रमायो ।’ उहाँ भन्नु हुन्छ,’ भिन्न परिवेष रहेको परदेशमा पनि दशैंले पाएको महत्व देख्दा मन खुशीले सारै गदगद भयो।भाग्यले ४ वर्ष पछि परदेशमा भएपनि छोरा, बुहारी नाति नातिनीका बिच दशैं मनाउन पाउदा हर्षोल्लासको सिमा रहेन।नेपालकै झै देखिएको दशैंको रौनक र माहोलले नेपाल मै दशैं मनाए झै लाग्यो।’ आमा बुवासंगै दशैं मनाउन पाउदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया छ छोरा दिपक ढकालको।पाको उमेरका भएकाले ढकाल दम्पतीबाट दशैंको टिका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नेहरुको बाक्लै उपस्थिति रहेको थियो। समग्रमा अमेरिकाको दशैंको माहोल हेर्दा, प्रवासी /आप्रवासी नेपालीहरुको नेपाली चाड पर्वप्रति आकर्षण बढ्दै गएको र सम्भव भएसम्म तन, मन र धन लगाएर बडा दशैं हर्षोल्लासका साथ मनाउने प्रयास गरिएको पाइयो।
हिन्दु धार्मिकग्रन्थ अनुसार, बडा दशैं रामले रावरणको र नव दुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव भएकाले दुःख पिडा भुलेर भएपनि यस चाडलाई सोही अनुसार मनाउने चलन चलिआएको छ।र, असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण गर्नुका साथै देवी देवताको पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, पारिवारिक, साँस्कृतिक, परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्ने गरिन्छ।तर, मुलत: बडा दशैंको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ।
हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी) सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ।जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ।
हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नव दुर्गाको भिन्न भिन्न स्वरुपको पूजा, अर्चना, साधना र आराधना गरी दशमीको दिन मान्यजनबाट टिका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्ने परंपरा चलिआएको छ।