अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत

Getty Images

काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति जो बाइडनले आफ्नो योजना सही दिशामा अघि बढेको तर आफूहरूले आह्वान गरेभन्दा धेरै कम समर्थन पाएको बताएका छन्।

बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयासहरूले कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए। हालैका दुईवटा सामूहिक गोलीकाण्डका घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिवार हजारौँले र्‍याली निकालेका थिए।

उक्त द्विपक्षीय सिनेट समूहले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि एउटा सामान्य द्विपक्षीय प्रस्तावको घोषणा गरिरहेका छौँ’ परिवारहरू डराएका छन् र आज हामी एकजुट भएर समुदायमा सुरक्षाको भावना पुनर्स्थापित गर्नका निम्ति मद्दत पुग्ने केही गर्नु हाम्रो कर्तव्य हो।’

सिनेटरहरूले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरूमा लगानी बढाउनका निम्ति पनि आह्वान गरेका छन्। घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरूको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने कुरामा पनि उनीहरूको जोड छ। राष्ट्रपति बाइडनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे गरेका छन्।

उनले अझै व्यापक सुरधारमा जोड दिएका छन्। त्यसमा एसल्ट राइफलहरूमा पूर्ण प्रतिबन्ध वा किन्न पाउने उमेरलाई बढाउने लगायतका प्रस्ताव छन्। उनले एउटा वक्तव्यमा भनेका छन्, ‘स्पष्ट रूपमा, यसले मैले ठानेको जस्तो आवश्यक पर्ने सबै कुरा गर्दैन, तर सही दिशाका महत्त्वपूर्ण कदमलाई प्रतिबिम्बित गर्छ अनि केही दशकमा कङ्ग्रेसले पारित गर्ने सबैभन्दा महत्त्वपूर्ण बन्दुक सुरक्षासम्बन्धी कानुन हुनेछ।’

सिनेटका डेमोक्र्याट नेता चक शुमरले यी योजनाहरू ‘एउटा राम्रो पहिलो कदम’ भएको बताएका छन्। उनले विधेयकसम्बन्धी आवश्यक काम सकिएपछि आफूले चाँडै त्यसलाई सिनेटमा मतदानका लागि पेस गर्न चाहेको बताएका छन्। बन्दुक नियन्त्रणको पैरवी गरिरहेका केही अभियातकर्ताहरूले पनि उक्त कुराको स्वागत गरेका छन्। अमेरिकाको न्याशनल राइफल एसोसिएसनले पूर्ण पाठ जारी भएपछि मात्र प्रतिक्रिया दिने जनाएको छ।
बीबीसी