अमेरिकामा राष्ट्रपति छान्न मतदान जारी

File Photo Source : CTV news

काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८) चुनावी मैदानमा उत्रिएका छन् । सोमवार साँझसम्म दुवै उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि आआफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलो अभियानमा सक्रिय भए ।


उनीहरु दुवैजनाको दौडधूप अन्यत्रभन्दा पनि खासगरी स्विङ स्टेट अर्थात् डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी दुवैमा संलग्न नभएका तर उम्मेदवारको कार्यशैली र एजेण्डा हेरेर मतदान गर्ने भएकोले यी राज्यलाई स्विङ स्टेट अर्थात् युद्ध मैदान राज्य भन्ने गरिन्छ ।

किनकि यहाँका मतदाता अनिर्णित मतदाता हुन् । यी सातवटा राज्यका मतदाताले राष्ट्रपतिको निर्वाचनको परिणामलाई उलटफेर गर्नसक्छन् । किनकि यिनीहरुले कहिले डेमोक्रेटिक पार्टीलाई त कहिले रिपब्लिकन पार्टीलाई सत्तामा पुर्‍याएका छन् । यी सातवटा राज्यमा अरिजोना, जर्जिया, मिचिगन, नेभाडा , पेन्सिलभेनिया, विस्कन्सिन र नर्थ क्यारोलिना हुन् । अरु राज्यको इलेक्टोरल कलेज कसको पक्षमा छ भन्ने कुरा भने लगभग पक्का भइसकेको छ ।

अमेरिकी राष्ट्रपति जनताको लोकप्रिय मतबाट प्रत्यक्ष निर्वाचित हुँदैनन् । संविधान अनुसार अमेरिकी मतदाताको मतका आधारमा छानिने इलेक्टोरल कलेजले राष्ट्रपतिको निर्वाचनको नतिजा निर्धारण गर्छ । कुल ५३८ इलेक्टोरल कजेजमध्ये आधाभन्दा बढी २७० इलेक्टोरल कलेज ल्याउने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् । कहिलेकाहीँ धेरै लोकप्रिय मत पाएर पनि २७० इलेक्टोरल कलेज नपाउँदा त्यो उम्मेदवार पराजित हुन्छ ।

इलेक्टोरल कजेज कुन राज्यबाट कतिजना चुनिन्छन् भन्ने कुराको निर्धारण चाहिँ जनसङ्ख्याको आधारमा हुन्छ । कमला ह्यारिसले मध्यमवर्गीय व्यक्तिहरुको पक्षमा वकालत गरिरहेकी छिन् । उनले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने, महिलाको प्रजनन स्वतन्त्रतालाई कायम राख्ने, कर कम गर्ने, स्वास्थ्य बिमाको पैसा कम गराउने, ठूला व्यापारिक घरानाले गरेको मूल्यवृद्धि रोक्ने र उनीहरुलाई कर पनि बढी लगाउने, पहिलोपटक घर किन्ने मान्छेलाई २५ हजार सहुलियत कर्जा दिनेजस्ता नीति लागू गर्ने बताएकी छिन् ।


ट्रम्पले गर्भपतनलाई राष्ट्रव्यापी रुपमा बन्देज लगाउने, ज्येष्ठ नागरिकको सोसल सेक्युरिटीमा कर हटाउने, दक्षिणी सीमामा पर्खाल लगाउने, आपराधिक चरित्रका मानिस र लागू पदार्थको कारोबारीलाई देशनिकाला गर्ने, ऊर्जा प्रवर्धनमा जोड र ग्यासको भाउ घटाउने आदि छन् । त्यस्तै उनले वैदेशिक नीति, अर्थतन्त्र र सीमा सुरक्षालाई कडाइका साथ लागू गर्ने बताएका छन् ।