अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लागेको छ । केही समयको प्रदर्शनपछि स्थिति नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।


वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेका बेला यो घटना भएको हो । यो बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने अभियान रहेको थियो । त्यस क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरी अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गरेका थिए । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस्को कारवाहीमा एक महिलालाई गोली लागेको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन ।

संसारलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकामा ट्रम्पले लिएको यो बाटोको भने संसारभरबाट आलोचना भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको आरोप उनीमाथि लागेको छ । उता राष्ट्रपतिमा निर्वाचिन जोय बाइडनले भने ट्रम्पलाई हिंसा रोक्न र संविधानको रक्षाका लागि आह्वान गरेका छन् ।