अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

planetware

न्यूयोर्क । अमेरिकामा ५ जी मोवाइल सेवा तत्काल प्रयोगमा नआउने भएको छ । यो प्रविधि लागु गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरुको शुरुबाटै विरोध थियो । सोहीकारण मोबाइल सेवा कम्पनीहरु वितमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउजाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी त्कालका लागि स्थगित गरेका बीबीसीले लेखेको छ ।

यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् । फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए ।

अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए । फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टमलाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ । विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ ।

यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् ।

यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् । मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ ।

तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ । अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।