काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।
यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै अगाडी पुगेको छ ।
अमेरिकामा अहिलेसम्म यस भाइरसको संक्रमणका कारण ३७ हजार मानिसले ज्यान गुमाएका छन् । चीनको वुहानबाट उत्पत्ति भएको यो भाइरसको औषधी अहिलेसम्म पत्ता लागेको छैन ।
संसारभरका सबैजसो मानिसलाई यसले त्राहीमाम बनाएको छ । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म २ लाख ३० हजारभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।
यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ३१ पुगेको छ । न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस संक्रमित छन् । यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ४० रहेको छ ।
अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमित भने निको भएका छन् ।
कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघेको छ । अहिलेसम्म १ लाख ५४ हजारभन्दा धेरै मानिसले संसारभर ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये पनि १५ जना भारतीय नागरिकमा संक्रमण भएको छ ।
१ जना नेपाल भित्रै रहेका नागरिकमा फैलिएका यो संक्रमण अन्य व्यक्ति भने विदेशबाट नेपाल फर्किएका हुन् । नेपालमा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।