वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ ।
यो उमेरका किशोर किशोरीमा खोप दिइने संसारकै पहिलो अभियान हुने छ । कोरोना विरुद्धको अभियानमा यसलाई निकै ठूलो सफलता समेत मानिएको छ । खासगरी विद्यालय जाने उमेर समुहका बालबालिकालाई यो खोप दिँदा आगामी दिन अझ सहज हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यहरुसँग आफ्नो राज्यमा रहेका युवामा छिटो खोप उपलब्ध गराउन आह्वान गरेका छन् । उनले अभिभावकसँग समेत आफ्ना बच्चालाई खोप अभियानमा सामेल बनाउन आह्वान गरेका छन् । अमेरिकामा १६ वर्षभन्दा माथिका मानिसका लागि भने खोप अहिले पनि उपलब्ध छ ।