अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

File Photo : (AP Photo/Paul Sancya)

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे । उनले भने, यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’

उनले मतदाताले आफुप्रति गरेको विश्वासलाई विनम्रतापूर्वक स्वीकार गर्ने भन्दै सबैलाई साथमा लिएर अघि बढ्ने समेत बताएका छन् । आफु अमेरिकाको राष्ट्रपति भएको भन्दै अब कुनै पार्टीको नभई सबैसँग मिलेर काम गर्ने उनको प्रतिवद्धता रहेको छ । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गरेका हुन् । उता, भारतीय मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बनेका हुन् ।