अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु

Photo source : Skynews

वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ ।

करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धाले पहिलो चरणमा बूस्टर मात्रा पाउने भएका छन् । ह्वाइट हाउसले कोरोनाभाइरसको डेल्टा भेरिअन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जानेू विवरणहरू प्राप्त भएकाले यस्तो कदम चाल्नुपरेको जनाएको छ। बूस्टर खोप लगाइने औपचारिक सिफारिस र अनुमति प्राप्त भएपछि अन्तिम निर्णय लिइनेछ।

जुलाई महिनाको शुरूयता अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको दैनिक सङ्ख्या बढ्दै गएको छ। त्यसबेला दैनिक दश हजारभन्दा कम सङ्क्रमित थिए । अहिले देशभरमा दैनिक १ लाख ५० हजार भन्दा बढी सङ्क्रमित देखिने गरेका छन् । अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेको छ। मृत्यु दर बढेपछि अधिकारीहरूले मास्क र सामाजिक दूरीको नियम पुनः लगाउन लागेका छन्।

औषधी सम्बन्धी विभिन्न अमेरिकी निकायहरू सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन, ‍द फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन र न्याशनल इन्स्टिच्यूट अफ हेल्थ र राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउची सबैजना बूस्टर मात्राको पक्षमा रहेको समेत बीबीसीले लेखेको छ ।