न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले यसअघि नै ५० करोड खोप बाँड्ने बताएको थियो ।
राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप बाँड्ने बाचा गरिरहंदा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको तथ्यांक रहेको बीबीसीले लेखेको छ । विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ।
बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा समेत गरेका छन्। धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ। तर, न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन्। धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने अवस्था समेत आएको छ ।