काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख नेपाली लाभान्वित हुने भएका छन् । अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठको भनाई छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी छ । नेपालले अब खोप अभियान चलाउने तयारी गरेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप दिएको हो । अहिले नेपालले चीनबाट खरीद गरेको खोप समेत आइरहेको छ ।
अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो
