अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

Photo source : technotrenz.com

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । यसले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनेको छ । त्यसले नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक असर पनि पर्न सक्ने विज्ञहरूले बताएका छन् । अमेरिकाले राजनीतिक हिंसाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई सूचित गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा भिन्न किसिमको राजनीतिक हिंसाका कारण नेपालमा यात्रा गर्न सावधानी अपनाउन सुझाव दिएको छ। उसले लेभल(२ भनेको एड्भाइजरीमा नेपालमा शान्तिपूर्ण हुने ठानिएका राजनीतिक प्रदर्शनहरू हिंसात्मक हुन सक्ने उल्लेख गरिएको छ। त्यस्ता प्रदर्शनहरूमा नेपाली अधिकारीहरूले बल प्रयोग पनि गर्न सक्ने अवस्था रहेको त्यसमा जनाइएको छ।

उक्त एड्भाइजरीमा नेपालमा हुने प्रदर्शनहरूमा नजान तथा ट्रेकिङ जाँदा वा पर्वतारोहण गर्दा एक्लै नजान पनि अमेरिकाले आफ्ना नागरिकहरूलाई सूचित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशहरूको सुरक्षा लगातका अवस्थाहरूको विश्लेषण गरेर आफ्ना नागरिकहरूलाई यस्तो सुझाव दिने गरेको छ। विदेश मन्त्रालयको वेबसाइटमा राखिएका विवरणहरूमा जनाइएअनुसार लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा भने उसले आफ्ना नागरिकहरूलाई भ्रमण नै नगर्न सूचित गर्ने गरेको छ।

त्यस्तै लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न भनेर सूचित गरिन्छ। लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भने उसले नागरिकहरूलाई सतर्कता अपनाउन र लेभल १ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन भन्ने गरेको छ। तर, नेपालमा भने अहिले हिसात्मक प्रकृतिको कुनै आन्दोलन भएको छैन ।