काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्। यही समस्यालाई दृष्टिगत गरी अमेरिकी सरकारले नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो।
मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा भेन्टिलेटर प्रयोग गर्ने बताए। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियूमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढ्दै गएको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियूमा उपचाररत छन्।
नेपालमा बिहीबारसम्म १ हजार १८९ जना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अधिकांश भेन्टिलेटरमा उपचार गराइरहेका गम्भीर बिरामी रहेको चिकित्सकको भनाइ छ।