अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने

वासिंटन डिसी । अमेरिकाले करीव ६ करोड डोज कोरोना खोप अन्य मुलुकहरुलाई सहयोग गर्ने भएको छ । त्यहाँको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो ।

बीबीसीका अनुसार ह्वाइटहाउसले एक विज्ञप्ति निकालेर यसको पुष्टी गरेको हो । केही महिना भित्रै यो मात्रामा खोप निर्यात हुनेछ । विश्वभर आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको छ । तर, अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

अमेरिकाले खोप थुपारेको आलोचना भएपछि यस्तो निर्णय आएको बताइएको छ । राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले भने अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताएका छन् । छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन्।

गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए। ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन्। सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ। ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ।