अमेरिकासहित थप ४ देशमा नेपालबाट सिधा हवाई उडानको तयारी

काठमाडौं । नेपालले थप ४ मुलुकमा सिधा हवाई उडान संचालनको तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डालसँग हवाई सम्झौताको तयारी गरेको हो ।

नेपालले हालसम्म विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

उनले भने, ‘अमेरिकाले हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यस मुलुकसँग छिट्टै हवाई सम्झौता गर्ने तयारीमा छौँ ।’नेपालले हाल ४० देश र युरोपेली सङ्घ (ईयू)सँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।

अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ ।

हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।