टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् ।
घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो स्थानमा जलाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यो क्षेत्र लागु औषध ओसारपसारमा बढी प्रयोग हुने गरेको छ । गुण्डागर्दीका लागि बदनाम यो क्षेत्रमा हरेक दिन जसो झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले उल्लेख गरेको छ ।
अभियोजनकर्ताहरूको कार्यालयले शवको परीक्षण गरिरहेको बताएको छ । तर, शव जलिसकेका कारण पहिचानमा समेत समस्या रहेको बताइएको छ । कर्मागोमा करीव १५ हजार व्यक्ति बसोबास गर्छन् । यो शहर अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्छ ।