अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार डीभी परे पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पाल्पाका सुमित रत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल र नवलपरासीका नरेश केसी पक्राउ परेका हुन् । उनीहरुलाई शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने लक्ष्मण पाठक, दिप विष्ट र सोहिली शाही समेत प्रहरीको फन्दामा परेका छन् । तीनै जनालाई सन् २०२० मा डिभी परेको हो ।