अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

ISRO\BBC

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए। उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ( जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो।

तर आधा शताब्दीपछि नासाले अधिकांश कामहरू गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूलाई खटाएको छ। बिल नेल्सनले तिनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै त्यसले उच्च लागतमा साझेदारी गर्न र नासालाई ‘निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताबाट’ लाभ लिन सघाउने बताए। नेल्सनले इलोन मस्कको स्पेस एक्सलाई चन्द्रमा मिशनमा प्रयोग हुने ल्यान्डर निर्माणका लागि सन् २०२१ मा ३ अर्ब बराबरको ठेक्का दिइएको उल्लेख गर्दै उक्त कम्पनीले हालसम्मकै सर्वाधिक शक्तिशाली रकेटको विकास गरेको पनि उल्लेख गरे। अन्तरिक्ष मिशनमा देखा परिरहेको प्रतिस्पर्धाबाट अन्य निजी फर्महरूलाई पनि फाइदा भइरहेको छ।

यसै वर्षको सुरुमा नासाले जेफ बेजोसको ब्लू ओरिजिनसँग तत्कालको नभई भावी चन्द्र मिसनहरूको अवतरणका लागि ल्यान्डर निर्माण गरिदिन ३।४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो। अर्बौँ डलरको सरकारी लगानीबाट लाभ पाएका यी दुई कम्पनी मात्रै हुन्। यो रकम विश्वका सबैभन्दा दुई ठूला अर्थतन्त्रबीचको बृहत् तनावमाझ कम्तीमा चीनभन्दा अघि अन्तरिक्ष प्रतिस्पर्धा आफूलाई उभ्याउन खर्च भइरहेको छ।

गएको अगस्टको अन्त्यमा भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउन सफल चौथो देश बनेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा मानव रहित अन्तरीक्षयानलाई अवतरण गराउने पहिलो देश भारत बनेको थियो। उक्त सफलताका बावजुद चीनको अन्तरिक्ष कार्यक्रमलाई नासाले नजिकबाट नियालिरहेको छ। आफ्नै अन्तरिक्ष केन्द्र भएको एकमात्र देश चीन हो। उसले चन्द्रमाबाट नमुनाहरू पृथ्वीमा ल्याइसकेको छ। चन्द्रमाको ध्रुवीय क्षेत्रको नजिक पुग्ने लक्ष्य उसले राखेको छ।

यसले नेल्सनलाई चिन्तित तुल्याएको छ। “मलाई के चिन्ता लागेको छ भने हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी फेला पार्न सक्छौँ। चीन त्यहाँ पुग्यो र उसले यो हाम्रो भूमि हो। तिमी यहाँ आउन पाउँदैनौँ भन्यो, यो हाम्रो हो भन्यो भने।” नेल्सनले कृत्रिम टापुहरू निर्माण गरेर साउथ चाइना सीका अरू क्षेत्रहरूमा सार्वभौमसत्ता दाबी गर्ने चीनको कदमले आफ्नो चिन्तालाई आधार दिएको बताए।


नेल्सनले चीनले अमेरिकी नेतृत्वमा अन्तरिक्ष र चन्द्रमामा अपनाउनुपर्ने असल अचारणबारे तयार पारिएको आर्टिमिस सम्झौतामा हस्ताक्षर नगरेको पनि उल्लेख गरे। चीनले आफू शान्तिपूर्ण रूपमा अन्तरिक्षको अन्वेषण गर्न प्रतिबद्ध रहेको बताएको छ। विगतमा उसले आफ्ना कार्यक्रमबारेका अमेरिकी चिन्ताहरूलाई चीनका नियमित र उद्देश्यसहितको बाहिरी अन्तरिक्ष प्रयासहरूलाई बदनाम गराउने अभियान भएको बताएको थियो।