अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका छन् ।

यो टोली आइतबार काठमाडौंबाट नेपालगञ्ज हुँदै तारा एयरको जहाज चढेर रारा पुगेका छन् । जिल्लामा जलवायु परिर्वतनले पारेको प्रभावसम्बन्धी अध्ययन गर्न र मुगुमा संचालित गैरसरकारी संस्थामार्फत आफ्नो देशको परियोजना अवलोकन गर्न समेत राजदूतहरु त्यहाँ पुगेको बताइएको छ ।

दुतावासले जलवायु परिवर्तनले हिमाली क्षेत्रका बासिन्दा र जनजीवनमा पारेको प्रभावको अध्ययन गर्ने यो भ्रमण गरिएको बताएको छ । सोमबार रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी, होटल व्यवसायी, पत्रकार, नागरिक समाजसित जलवायु् परिर्वतनले पारेको असरबारे छलफल गर्ने कार्यक्रम छ । उनीहरु मंगलबार समेत मुगुमै रहने छन् ।