काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् ।
बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।
सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटका लागि नेपालले विश्वकप लीग टूमा पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।
उनी जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
नेपाल क्रिकेट संघ अहिले आइसीसीको निलम्बनमा छ । सोहीकारण उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसीसी मार्फत नेपाली प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनले मासिक ७ हजार डलर तलब पाउने गरी आइसीसीसँग सम्झौता गरेका थिए ।
मुख्य प्रशिक्षक नेपालको प्रशिक्षणमा नेपालले सिंगापुरमा आइसीसी टी२० विश्वकप छनोट खेलेको थियो । तर, नेपाल छनोट हुन सकेन ।
नेपाल टी–२० को विश्वकप छनोटको एसिया फाइनलमै नपुगी आउट भयो । उनको प्रशिक्षणमा नेपालले साग क्रिकेटमा खेलेपनि सफल हुन सकेन ।