दोहा । अमेरिका र तालिवानबीच अफगानिस्तानमा शान्ती स्थापना गर्ने सम्बन्धमा एक दीर्घकालिन सम्झौतामा ऐतिहासिक हस्ताक्षर भएको छ ।
अफगानिस्तानमा रहेका हजारौं सैनिक फिर्ता गर्ने सहमति गरेको अमेरिकाले तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो ।
यससँगै अब १८ वर्ष लामो युद्धलाई अन्त्य गर्न अमेरिका र तालिवान सहमत भएका छन ।
हस्ताक्षर कार्यक्रम कतारको दोहामा भएको हो । यस कार्यक्रममा भाग दिन अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिबानका नेता दोहा पुगेका हुन ।
यस सम्झौताले अफगानिस्तानमा शान्ती फिर्ता हुने र त्रासदीपुर्ण अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ ।
सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धता पालना गर्यो भने अमेरिका र उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का साझेदारले अफगानिस्तानमा खटाएका सबै सैनिक फिर्ता गर्नेछन् ।
तर, सबै सैनिक फिर्ता हुने अर्को १४ महिना लाग्ने भएको छ । तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ ।
अब तालिवान अफगानी सरकारसँग समेत वार्तामा बस्न तयार भएको छ । यसअघि अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै तालिवान वार्तामा बस्न इन्कार गर्दै आएको थियो ।
सन् २०१८ को डिसेम्बरमा तालिबानले शान्तिको मार्ग खोज्न अमेरिकी अधिकारीसमक्ष भेट्न सकिने घोषणा गरेपछि औपचारिक रुपमा वार्ताको वातावरण बन्न थालेको थियो ।
अफगानिस्तानको सरकारसँग वार्ता नगर्ने अडानका बीच अमेरिका र तालिवानबीचको वार्ताको भेन्यू दोहा हुँदै आएको छ ।
सन् २००१ बाट शुरु भएको युद्दले अफगानिस्तानमा लाखौं मानिसको ज्यान गयो । हजारौं सैनिक मारिए । अन्ततः दुबै पक्ष वार्ताका माध्यमबाट समस्या समाधानमा अग्रसर भएका छन् ।