अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम लगाएको हो ।

स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो । मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ ।

ती देशबाट आएका यात्रुले आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । पोजेटिभ रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।