अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि

काठमाडौं \बीबीसी । टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प आएपछि ट्विटरमा उक्त विपत्तिबारे अनेकौँ चर्चा भएका छन् अनि तस्बिर र भिडिओहरू प्रेषित भएका छन्। म्याग्निट्यूड ७.८ को उक्त भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण भवनहरू भत्किँदा दुई देशमा गरेर ४४,००० जनाभन्दा बढी मानिसको ज्यान गएको छ।

उक्त भूकम्प अमेरिकाका कारण उत्पन्न भएको दाबी गरिएका लाखौँ पोस्टहरू सामाजिक सञ्जालमा देखा परेका छन्। धेरै चर्चित अर्थात् सामाजिक सञ्जालको भाषामा भाइरलु भएका केही सामग्रीमा अमेरिकाको अलास्का राज्यस्थित एउटा वैज्ञानिक परियोजना हार्पका कारण टर्कीमा भूकम्प उत्पन्न भएको भन्ने मिथ्या दाबी गरिएको छ।

ुहार्प अमेरिकी सेनाको आर्थिक सहयोगमा सुरु भएको हाई फ्रिक्वन्सी एक्टिभ अरोरल रिसर्च प्रोग्र्याम (एचएएआरपी) को सङ्क्षिप्त रूप हो। अमेरिकी सेनाले सन् १९९० मा उक्त कार्यक्रम सुरु गरेको हो। सन् २०१४ देखि यूनिभर्सिटी अफ अलास्का फेअरब्याङ्क्सले हार्प सञ्चालन गर्दै आएको छ।

हार्पमा प्रयोग हुने ट्रान्समिटरले पृथ्वीको वायुमण्डल र अन्तरिक्षको मिलन हुने क्षेत्र आयनमण्डलको अध्ययन गर्छ। टर्कीमा केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएपछि ट्विटरमा हार्पबारे लेख्ने नौला अकाउन्टहरूको सङ्ख्या ह्वात्तै बढ्यो। बीबीसीले गरेको अनुसन्धानमा ट्विटरमा साढे पाँच लाख पटकभन्दा बढी हार्प उल्लेख गरिएको पाइयो।

एउटा पोस्टमा यस्तो लेखिएको छः टर्कीमा जे भयो, उनीहरूले जीओ(इन्जिनियरिङ मौसम परिवर्तन हार्प प्रयोग गरे । अर्का एक जनाले चराहरूको भिडिओ हाल्दै भूकम्प जानुअघि तिनले अनौठो व्यवहार देखाएको टिप्पणी गरेका छन्। उनको प्रश्न छः के टर्कीमा हार्पबाट आक्रमण भएको हो ? मानिसहरूले बादलको तस्बिर राख्दै भूकम्प जानुअघि टर्कीमा त्यस्ता बादलहरू देखा परेका र ती हार्पजनित भएको मिथ्या दाबी गरे।

ूहार्प परियोजनास्थलमा भएको अनुसन्धानमूलक उपकरणले प्राकृतिक विपद्हरू उत्पन्न गराउने वा तिनलाई बढाउने काम गर्न सक्दैन, हार्पकी कार्यक्रम प्रबन्धक जेसिका म्याथ्यूजले बीबीसीलाई बताइन्। यूनिभर्सिटी अफ मिशिगनमा जलवायु र अन्तरिक्ष विज्ञानका प्राध्यापक आरोन रिड्ली पनि म्याथ्यूजको भनाइसँग सहमत छन्। हार्पले मौसममा प्रभाव पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन, उनले भने। प्राकृतिक विपद् उत्पन्न गराएको आरोप हार्पमाथि लागेको यो पहिलो पटक भने हैन।

हार्प परियोजना कुनै गोप्य उद्देश्यका लागि सञ्चालित भएको मान्यता राख्नेहरूमाझ वर्षौँदेखि चर्चाको विषय बनेको छ। वैज्ञानिक र विज्ञहरूले मिथ्या भएको स्पष्ट पारेका छन् तर पनि हार्प धेरै प्राकृतिक प्रकोपहरूको कारक भएको चर्चा सधैँ हुँदै आइरहेको छ,ू बीबीसी डिस्इन्फर्मेशन टीमका शायान सेर्दारीजादेले बताए। हार्पले आयनमण्डलमा हुने अस्थिरताबारे अध्ययन गर्न खोजिरहेको छ । स्थापना गर्दा हार्पको उद्देश्य सैन्य र नागरिक सञ्चार तथा न्याभिगेशन प्रणालीमा आयनमण्डलले कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्नु थियो।