अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना कसरी हुन्छ ?

File Photo Source : CTV news

काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्।


सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ। स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई ुक्यान्भासिङु भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।

मत प्रमाणीकरण गर्दा जीवित मतदाताको कुल सङ्ख्या र खसेको मतको सङ्ख्याको तुलना (मतपत्र च्यातिएको वा त्यसमा मसी लतपतिएको छ कि छैन भनेर हेर्न प्रत्येक मतपत्र निकाल्ने, खोल्ने र जाँच्ने काम) अनि केही अस्वाभाविकता भए तिनको अभिलेख राख्ने र छानबिन गर्ने काम गरिन्छ। गणना गर्दा प्रत्येक मतपत्रलाई विद्युतीय स्क्यानरमा राखिन्छ।

कहिलेकाहीँ हातैले गन्नुपर्ने वा दोहोर्‍याएर रुजु गर्नुपर्ने पनि हुन सक्छ। प्रत्येक राज्य र स्थानमा क्यान्भासिङ प्रक्रिया, मत छुट्ट्याउने क्रम निर्धारण र गणना गर्ने स्थानमा कुन ठाउँसम्म सर्वसाधारण मानिस तथा पर्यवेक्षकहरू जान पाउँछन् भन्ने निर्णय गर्ने भिन्नाभिन्नै नियमहरू छन्।