काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्। हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्।
अदालतमा सो मुद्दा हेर्ने ज्युरी छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन्। सुरूमा उनका वकिलले ुअल्फर्ड प्लीु का लागि कुरा गरेका थिए। सन् १९७० मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि सेकेन्ड डिग्री मर्डर गरेको स्वीकार गरेका थिए।
योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई सेकेन्ड डिग्री मर्डर भनिन्छ।
न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर सेकेन्ड डिग्री मर्डरका लागि ३० वर्ष सजाय दिएका थिए। अमेरिकामा बिरलै मात्रै प्रयोग हुने अल्फर्ड प्लीु दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ। हन्टरले बिहीबार अल्फर्ड प्ली मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।
अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ। तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन्। उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनाव पछि आगामी डिसेम्बरमा हुनेछ। उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछन्।
गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए। त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ। हन्टर दुर्व्यसनी भएको समयमा करसम्बन्धी दुई सामान्य कसुर उनले स्वीकार गरे करसम्बन्धी अरू कसूर र बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनका वकिल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेसबीच कुरा मिलिसकेको थियो।
तर ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइकाले सो लेनदेन रोकेकी थिइन्। त्यसपछि बन्दुकसम्बन्धी र करसम्बन्धी छुट्टा-छुट्टै मुद्दा चले। बन्दुक सम्बन्धी मुद्दामा उनी दोषी ठहरिइसकेका छन् भने करसम्बन्धी मुद्दामा उनले गल्ती स्वीकार गरेका छन्।
उनले बन्दुकसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा परिवारका सदस्यले लामो समयसम्म बेइज्जती बेहोर्नु परेकाले फेरि परिवारले त्यस्तो नबेहोर्नुपरोस् भनेर गल्ती स्वीकार गरेको भनेका छन्। अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिनसक्छन्। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनिसकेका छन्।