अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

File (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

बाली । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग राष्ट्रप्रमुखका हैसियतमा इन्डोनेशियाको बालीमा पहिलो प्रत्यक्ष भेटघाट गरेका छन्।
दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा बैठक भएको हो। आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुको आवश्यकताबारे बोलेका थिए। बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ।

स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ। बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने बताएको बीबीसीले लेखेको छ । बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा रेड लाइन नकाट्न चेतावनी दिएको बताइएको छ।

बाइडनले आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने बताए। उनले सी जिन्पिङसँगको वार्तामा युक्रेन युद्ध र उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहारबारे चासो व्यक्त गरेका थिए।

मङ्गलवार सुरु हुने जी२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्। चिनियाँ राष्ट्रपतिले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने बताए।