अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

न्यूयोर्क

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् ।

कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड- १९ कोअर्डिनेटर जेरेमी कोनिन्डिकलाई नेपाललाई अमेरिकी सरकारले पुर्याउने सरयोग बारे प्रश्न गरेका हुन् । सिनेटर मर्फीले नेपालमा भाइरस संक्रमणको अवस्था छिमेकी भारतको जस्तै भयावह हुन नदिन सरकारले के सहयोग गर्न सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै सिनेटर सहिनले समाचारहरुमा तीब्र रुपले नछाए पनि नेपालमा भाइरस संक्रमण उच्च रहेको तथ्यांक आफ्नो राज्यमा बसोबास गर्ने नेपालीहरुले आफुलाई सुनाएको बताएकी थिइन् ।

जवाफमा कोनिन्डिक नेपाललाई कोभिड -१९ सँग जुध्न दुई करोड ३७ करोड डलर (करिब साढे दुई अर्ब रुपैयाँ) अमेरिकाले छुट्याएको र त्यसमा पनि एक करोड डलर हालै मात्र विनियोजन गरिएको जवाफ दिए । नेपाललाई भाइरस टेष्टिङ देखि अन्य अत्यावश्यक स्वास्थ्य उपकरणमा तुरुन्त सहयोग पुर्याउने उनले बताएका थिए ।

अमेरिकामा भ्याक्सिन हान्ने संख्या बढेसँगै भाइरस नियन्त्रण उन्मुख देखिए पनि भारत लगायत देशमा पछिल्लो समय तीब्र संक्रमण बढेपछि सिनेटको बैदेशिक सम्बन्ध समितिले  ‘कोभिड-१९ पेन्डामिक एन्ड द युएस इन्टरनेशनल रेस्पोस्स’ शिर्षकको सुनुवाइ आयोजना गरेको हो ।