काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ। चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए। ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गरेकी छन्।
भेटपछि उनले ताइवानसँग यसअघि जनाएको प्रतिबद्धताबाट अमेरिका पछि हट्न नहुने बताइन्। त्यसपछिको संयुक्त पत्रकार सम्मेलनमा उनले यसअघि पुरुष सांसदहरू आउँदा चीनले केही नबोलेको तर आफू आउँदा ठूलो विवाद गरेको गुनासो गरिन्। मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी त्यहाँको संसद्मा पनि पुगेकी थिइन्। अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।
पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो। पलोसी अमेरिकी सरकारको तेस्रो वरीयताकी वरिष्ठतम अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको थियो।
ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।