अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । उनले दुई महिनाअघि मात्र सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका थिए । शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

नेपालमा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने समेत कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दुतावासका अनुसार सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने बताएको छ । उता, बिहीबार नै दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

उनले समेत नेपाली नेता र अधिकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको बताइएको छ ।