काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उनी बिहीबार दिउँसो दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आएका हुन्। लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई हस्तान्तरण गरेका छन् ।
यो कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्छ। सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ । काठमाडौंमा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। अन्य भेटघाटबारे खुलेको छैन ।
नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौं आएका हुन् । लु यसअघि एमसिसी पारित हुनुभन्दा अघि गत मंसिरमा नेपाल आएका थिए। त्यतिबेला उनले नेपालमा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए।