काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका सुरेश श्रेष्ठको कार दुर्घटनामा परी ज्यान गएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी उनको ज्यान गएको हो ।
श्रेष्ठ गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका हुन् । २३ वर्षिय श्रेष्ठको टाउको र शरीरको भित्री भागमा चोट लागेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । उनको अस्पतालमा उपचारका सिलसिलामा निधन भएको हो । उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको बताइएको छ ।
सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनी ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका थिए । तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ भने नेपालमै छन् ।