लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी समयमा मा अर्को गोल थपे ।
खेलमा कप्तान मेसीले दुई गोलमा प्रत्यक्ष सहयोग गरेका थिए । युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच भएको भिडन्तमा अर्जेन्टिनाले जित निकालेको थियो । कप्तान मेसीले मुलुकका लागि अर्को उपाधी जितेका छन् । अब उनी विश्वकपमा केन्द्रित हुनेछन् ।